कीर्तिपुर, काठमाडाैँ, नेपाल ।
थालनी
त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै २०१६ असोज ६ गते नेपाली केन्द्रीय विभागको स्थापना भएको हो । यो कीर्तिपुरमा अवस्थित छ । विद्यार्थी भर्ना, नेपाली भाषा साहित्यको पठनपाठन, अनुसन्धान आदिका आधारमा यो विभाग निकै महत्त्वपूर्ण अनुसन्धान एवं शिक्षणको केन्द्र हो । झन्डै ६५ वर्षको समयावधिमा यस विभागले थुप्रै प्राज्ञिक कार्यहरू गरेको छ । त्रिभुवन विश्वविद्यालयका अन्य आङ्गिक क्याम्पसमा सञ्चालित नेपाली भाषासाहित्य शिक्षणको अनुगमन पनि यस विभागले गर्ने गर्दछ । नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा नेपाली केन्द्रीय विभागले अनवरत रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
उद्देश्य
नेपाली केन्द्रीय विभागको उद्देश्य, विभिन्न तह र भिन्न भिन्न प्रकृतिका पाठ्यांश अनुरूप पृथक् पृथक् रहे पनि नेपाली भाषा साहित्यको अध्ययन, अध्यापन, अनुसन्धान र यसको श्रृवृद्धि गर्नु हो ।
कार्यक्रम
नेपाली केन्द्रीय विभागमा हाल सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर र MPhil-PhD कार्यक्रम सञ्चलनमा छन् भने मानविकी तथा सामाजिक शास्त्र सङ्काय त्रि.वि. द्वारा सञ्चालित नेपाली विषयको विद्यावारिधि (PhD) कार्यक्रमलाई यस विभागले प्राज्ञिक सहयोग पुर्याउँदै आएको छ । यस विभागमा स्नातकोत्तर तहको अध्ययन अध्यापन त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै भएको हो
नेपाली केन्द्रीय विभागले त्रिविको स्थापना कालदेखि नै स्नातकोत्तर स्तरीय जनशक्ति उत्पादन गर्दै आइरहेको छ । यहाँबाट उत्पादित त्यो उच्च स्तरीय जनशक्ति नेपाली भाषा साहित्यको पठन पाठन शोध अनुसन्धान जस्ता उत्तरदायित्वपूर्ण क्रियाकलापमा संलग्न छ भने अर्कातिर यसले भाषा साहित्यसँग सम्बद्ध विविध क्षेत्रमा विशेषज्ञता समेत प्रदान गर्दै आएको छ । यसबाहेक नेपाली भाषा साहित्यको पठन पाठनसँग सम्बद्ध जनशक्ति साहित्य सिर्जनाका क्षेत्रमा पनि क्रियाशील छ र नेपाली सिर्जना संसारमा यसले निर्वाह गरेको भूमिका पनि त्यतिकै स्मरणीय छ।
नेपाली केन्द्रीय विभाग त्रि.वि.को एक महत्त्वपूर्ण विभागका रूपमा क्रियाशील रहेको झण्डै पैसठ्ठी वर्ष (६५) पुगेको छ । यस विभागले आफूलाई यस रूपमा स्थापित गर्न थुप्रै जटिलताहरू पार गरेको छ । यस विभागको वर्तमान अवस्था प्राज्ञिक दृष्टिले उन्नत किन पनि देखिन्छ भने नेपाली साहित्यमा विभिन्न विधामा क्रियाशील प्रबुद्ध प्राध्यापकहरू यहाँ संलग्न छन् । परीक्षाको नतिजाको स्तर र विद्यार्थीहरूको उत्साहजनक चापका कारण पनि यो विभाग उन्नत स्तरको छ । अधिकांश नेपालीहरूको सम्पर्क भाषा नेपाली भएकाले त्रि.वि.का अन्य विभागको दृष्टिकोण पनि यस विभागप्रति सकारात्मक छ । नेपाली भाषासाहित्य पढेका मान्छेहरूले मात्र नेपाली भाषा बचाउनका लागि उत्तरदायित्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ भन्ने धारणा व्याप्त रहेको सन्दर्भमा यो सबै नेपालीहरूको साझा सम्पर्क भाषा हो भन्नेमा नेपाली केन्द्रीय विभाग दृढ छ ।